राष्ट्रिय महिला भलिबलः न्यू डाइमण्ड सेमिफाइनलमा प्रवेश
६ चैत्र, हेटौँडा । काठमाडौँको न्यू डाइमण्ड क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा शुक्रबार भएको भलिबल प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा जीत निकालेसँगै काठमाडौंको न्यू डाइमण्ड क्लबले सेमीफाइनलको यात्रा पूरा गरेको हो ।
शुक्रबार भएको लिगको आफ्नो दोस्रो खेलमा पाल्पाको स्टेप भलिबल क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको छ । न्यू डाइमण्ड क्लबले पाल्पाको स्टेप भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–४ ले पराजित गर्दै सेमीफाइनलको यात्रा पूरा गरेको हो । यस्तै, केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान बागमती प्रदेश र ब्राइट फ्यूचर स्पोट्र्स क्लबको खेल वर्षाको कारणले स्थगित भएको छ ।
दुबै टिमबीचको खेल चौंथो सेट चलिरहँदा रोकिएको हो । पहिलो सेटमा केशवलाललाई २५–१५ ले ब्राइट फ्यूचरले पराजित गरेको थियो । त्यसपछि लगत्तै दोस्रो र तेस्रो सेटमा ब्राइट फ्यूचरलाई २५–१४ र २५–१६ ले केशवलालले पराजित गरेको हो । स्थगित खेललाई उपयुक्त मौसमा सुचारू गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ ।















