राष्ट्रिय महिला भलिबलको उपाधि न्यु डायमण्डले जित्यो

स्वर्णिम खबर
८ चैत्र २०८२, आईतवार १८:२४

८ चैत्र, हेटौँडा । हेटौंडामा सम्पन्न राष्ट्रिय महिला भलिबलको उपाधि काठमाडौंको चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले जितेको छ ।
हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी राष्ट्रिय दोस्रो बृहत् खेलको, कृषि तथा पर्यटन महोत्सवमा आइतबार दिउँसो भएको फाइनल खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्ड क्लब यस अघिको महोत्सवमा भएको प्रतियोगिताको उपविजेता पनि हो ।
फाइनल खेलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५–१३,२५–१५ र २५–२३ को सेटले पराजित गरेको हो । उपाधि संगै न्यू डायमण्डले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता केशवलालको टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, सेमीफाइनलमा पराजित भएका लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबको टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डकी कुमार राई घोषित भएका छन् ।
उनीहरुले जनही ५÷५ हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*