खानेपानीको गुणस्तर परीक्षण गर्न हेटौंडामा पानी परीक्षण प्रयोगशालाको शुभारम्भ

स्वर्णिम खबर
२८ पुष २०८२, सोमबार १८:५४

२८ पुस, हेटौँडा । हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको शुभारम्भ गरिएको छ ।
संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको प्रयोगशालाको सोमबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले शुभारम्भ गर्नुभएको हो । संघीय कार्यालयको ११ लाख र खानेपानी बोर्डको २३ लाख ५० हजारी गरी कुल ३४ लाख ५० हजार लागतमा काठमाडौँस्थित जे.एच.एस एनालिटिक कम्पनीले प्रयोगशाला निर्माण गरेको हो । आधुनिक उपकरण जडान गरिएको प्रयोगशालमा परीक्षणका लागि आवश्यक रसायन किटको पनि व्यवस्था गरिएको छ ।
प्रयोगशालाको सञ्चालनसँगै पानीको गुणस्तर परीक्षण वैज्ञानिक मापदण्ड अनुसार र विश्वसनीय हुने विश्वास लिइएको बोर्डका अध्यक्ष प्रताप विष्टले बताउनुभयो । उपभोक्ताहरुलाई खानेपानीको गुणस्तरमा शंका लागे निःशुल्क रुपमा प्रयोगशालामा पानीको परीक्षण गर्न सकिने उहाँले बताउनुभयो । अध्यक्ष विष्टका अनुसार गत वर्ष प्रयोगशालाबाट मात्रै बोर्डले ५ लाख आम्दानी गरेको छ । प्रयोगशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकेको खण्डमा वार्षिक रुपमा १० देखि १५ लाख रुपैंया आम्दानी गर्न सकिने उहाँको भनाई छ ।


त्यसैगरी उपमहानगरपालिकाकी नगर प्रमुख लामाले सबै नगरबासीको घरमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्यको साथ उपमहानगर अघि बढेको बताउनुभयो । खानेपानीको साना देखि दीर्घकालिन महत्वको योजना निर्माणको लागि आफुहरु रणनीति बनाएर अघि बढेको उहाँको भनाई छ । नगर प्रमुख लामाले खानेपानीलाई गुणस्तरीय र व्यवस्थित बनाउन नै प्रयोगशाला स्थापना भएको बताउनुभयो ।
हेटौंडामा २५ वर्षको लागि खानेपानी व्यवस्थित गर्न एडिबीसंगको सहकार्यमा २ सय करोडको योजनाको डिपिआर सम्पन्न भइसकेको र छिट्टै टेण्डर समेत आह्वान हुने उहाँले जानकारी दिनुभयो । नगर प्रमुख लामाले खानेपानी बोर्ड सेवाग्राहीको लागि २४ सैं घण्टा खुल्ला रहने भएकोले बोर्ड माथिको विश्वासलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।


प्रयोगशालाले मकवानपुर जिल्ला सहित छिमेकी मधेस प्रदेशका विभिन्न जिल्लाबाट आउने पानीका नमूनाहरूको समेत परीक्षण सेवा उपलब्ध गराउने बोर्डले जनाएको छ । प्रयोगशाला निर्माणको जिम्मा लिएको बोर्डका सूचना अधिकारी सन्जय न्यौपानेले बताउनुभयो । सम्झौता अनुसार चार महिनाभित्र सबै आवश्यक उपकरण जडान सम्पन्न गरेको न्यौपानेले जानकारी दिनुभयो । प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ परीक्षणमध्ये १४ वटा भौतिक, रासायनिक तथा सूक्ष्म जैविक (माइक्रोबायोलोजिकल) परीक्षणहरू सञ्चालन गरिने बोर्डका प्रशासन प्रमुख माधव चौलागाईंले बताउनुभयो । यसअघि २०७५ सालदेखि बोर्डले सामान्य उपकरण प्रयोग गरेर पानी परीक्षण गर्दै आएको थियो ।


कार्यक्रममा बोर्डका सदस्य तथा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष प्रमोदसिंह रानाभाट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ का प्रमुख रविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, , उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*