प्रगति मा.वि.ले माघ ६ गतेदेखि ९ गतेसम्म स्वर्ण महोत्सव मनाउने
२६ पुस, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९, पशुपतिनगर स्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ ।
वि.सं. २०२२ मा स्थापना भएको यस विद्यालयले ५० औं वार्षिकोत्सव माघ ६ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउन लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । स्वर्ण जयन्ती महोत्सव अन्तर्गतका विभिन्न गतिविधिहरू भने शनिबार देखि नै सुरु भएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । पौष २६ र २७ गते जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, माघ २ गते छात्रा भलिबल प्रतियोगिता, माघ ३ गते जिल्ला स्तरीय शिक्षक सम्मेलन आयोजना गरिनेछ भने माघ ४ गते विविध अतिरिक्त क्रियाकलाप सञ्चालन हुने विद्यालयले जनाएको छ ।
माघ ५ गते विद्यार्थी सहभागितामा साइकल ¥याली, मानवसेवा आश्रम सहयोग कार्यक्रम तथा विद्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरिने प्रधानाध्यापक पराजुलीले बताउनुभयो । माघ ६ गते स्वर्ण जयन्ती महोत्सव समुद्घाटन कार्यक्रम रहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव उद्घाटनका साथै स्वर्ण स्तम्भ अनावरण, स्मारिक विमोचन विद्यालय गान सार्वजनिककरण, शैक्षिक प्रदर्शनी, सम्मान लगायतका कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ ।
माघ ७ गते साहित्य सम्मेलन तथा विद्यार्थीका विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन् । यस्तै माघ ८ गते अभिभावक तथा विद्यार्थी लक्षित विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप, साथै विद्यार्थी पुरस्कार वितरण र पूर्व विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति कार्यक्रम आयोजना गरिने बताइएको छ । स्वर्ण जयन्ती महोत्सवको अन्तिम दिन माघ ९ गते सरस्वती पूजाको दिनमा विद्यालयको पहिलो प्रधानाध्यापक स्व. राधादेवी शाहको प्रतिमा अनावरण कार्यक्रम राखिएको छ ।
यसका साथै सांस्कृतिक कार्यक्रम, सम्मान तथा समापन कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने तथा प्रधानाध्यापक पराजुलीले विद्यालयको यस ऐतिहासिक अवसरलाई सफल बनाउन अभिभावक, पूर्व विद्यार्थी, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण समुदायलाई सहभागिताका लागि अनुरोध समेत गर्नुभएको छ ।













