बस्तीको बीचबाट सडक विस्तार गर्नु गलतः दुर्गा प्रसाई
२४ पुस, हेटौँडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बस्तीको बीचबाट सडक विस्तार गर्नु कुनै पनि हालतमा सही नभएको बताउनुभएको छ ।
हेटौडाको मुख्य राजमार्ग बाइपास हुँदै लैजानुपर्नेमा सरकारले बस्ती नै उठिबास गराउने शैली अपनाएको आरोप उहाँले लगाउनुभयो । हेटौंडामा बिहिबार आयोजित बृहत् भेटघाट तथा नागरिक जागरण अभियानलाई सम्बोधन गर्दै प्रसाईंले विश्वका कुनै पनि देशमा बस्तीको बीचबाट राजमार्ग विस्तार गर्ने प्रचलन नरहेको उल्लेख गर्नुभयो । बाइपासबाट लगेकोे भए घरधनी र व्यवसायीले यति ठूलो क्षति व्यहोर्नु नपर्ने उहाँको भनाइ थियो । जिम्मेवार सरकार र नेतृत्वको अभावका कारण हेटौंडाका सडक विस्तार प्रभावितले क्षतिपूर्ति नपाउने अवस्था आएको उहाँले दाबी गर्नुभयो । एकातिर सडक विस्तारले व्यवसाय विस्थापित भएको र अर्कोतर्फ बैंकको उच्च ब्याजदरले आर्थिक भार थपिएको उहाँको भनाइ थियो । सडक विस्तार प्रभावितले क्षतिपूर्ति पाउन ठूलो आन्दोलन नगरी सम्भव नहुने समेत प्रसाईले दाबी गर्नुभयो ।
प्रसाईले अहिलेको आवश्यकता चुनाव नभएको बताए । जेनजीको आन्दोलनलाई हाइज्याक गरेर वर्तमान सरकार गठन भएको उनको धारणा छ । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाहरुको डिजाइनमा बनेको आरोप समेत लगाए । पश्चिमहरुले आफनो इशारामा चल्ने व्यक्तिलाई नेपालमा प्रधानमन्त्री बनाउन खोजेको समेत उनले जिकिर गरे । नेपाललाई युक्रेन बनाएर धेरै जेलेन्स्कीहरु जन्माउने दुष्प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्नेमा प्रसाईले जोड दिए ।
प्रसाईँले जेनजी आन्दोलन मार्फत् जनताले महसुस गर्ने खालको परिवर्तन नआएको उल्लेख गर्दै देशका लागि लड्नुपर्ने समय आएको समेत बताउनुभयो । यसका लागि फागुन १ गते देशव्यापी आन्दोलन गर्न लागिएको उहाँले बताउनुभयो ।













