जोखिमयुक्त संरचनामा व्यवसाय नगर्न प्रशासनको आग्रह

स्वर्णिम खबर
२२ पुष २०८२, मंगलवार १९:१०

२२ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सडक विस्तारका क्रममा भत्काइएका जोखिमयुक्त घर–टहरामा व्यापार–व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा मंगलबार जारी सूचनाअनुसार पौष २२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै जोखिमयुक्त संरचनामा कुनै पनि प्रकारको व्यवसाय नगर्न तथा नगराउन अनुरोध गरिएको हो । सूचनामा उल्लेख गरिएअनुसार अधिकांश घरधनीहरूले स्वेच्छिक रूपमा भत्काइएका संरचनाको व्यवस्थापन गरिसकेका छन् । तर केही स्थानमा डोजर तथा एक्साभेटर प्रयोगका क्रममा आंशिक रूपमा भत्किएका जोखिमयुक्त घर–टहरामा अझै पनि व्यापार–व्यवसाय सञ्चालन भइरहेको पाइएको प्रशासनले जनाएको छ ।
यस्ता संरचनामा व्यवसाय सञ्चालन गर्दा कामदार तथा सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम रहने भन्दै संरचना व्यवस्थापनका क्रममा श्रमिकको सुरक्षालाई उच्च प्राथमिकता दिन प्रशासनले आग्रह गरेको छ । जोखिमपूर्ण अवस्थामा व्यवसाय सञ्चालनबाट हुन सक्ने कुनै पनि प्रकारका विपद्जन्य घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयंले वहन गर्नुपर्ने सूचनामा स्पष्ट पारिएको छ ।
सडक डिभिजन हेटौंडाले मंसिर २० गते रातोमाटेबाट बुद्धचोक हुँदै राती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक विस्तार कार्यका क्रममा सडक सीमाभित्र पर्ने घर–टहराहरू भत्काएको थियो । सर्वोच्च अदालतको आदेशअनुसार उक्त सडक विस्तार कार्य हालका लागि स्थगित गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*