लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकारले लगानी गर्छः नगर प्रमुख लामा
२१ पुस, हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सोमबार हेटौंडामा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले लागूऔषध नियन्त्रणका लागि अब स्थानीय सरकारले समेत लगानी गरेर काम गर्ने बताउनुभयो । लागूऔषध नियन्त्रण थुनेर मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले सबै क्षेत्रबाट सचेतना फैलाएर मात्र यसको न्यूनीकरण गर्न सकिने बताउनुभयो । लागूऔषधका कारण हेटौंडामा ठूलो चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख लामाले यसलाई नियन्त्रण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषधका कारण हेटौंडाको अवस्था भयावह बन्दै गएको बताउनुभयो । लागूऔषध नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । हेटौंडा लागूऔषध ओसारपसारको ट्रान्जिट बिन्दु बन्दै गएकोतर्फ समेत उहाँले ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले लागूऔषधसहित पक्राउ गर्ने कार्य निरन्तर भइरहेको जानकारी दिनुभयो । अबका दिनमा यसको न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गरे मात्र सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो । लागूऔषध नियन्त्रणका कार्यमा मकवानपुर जिल्लालाई प्रदेश प्रहरी कार्यालयबाट सक्दो सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले लागूऔषधका कारण मकवानपुर जिल्लामा भइरहेका अपराधसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहोरा, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं लगायत प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, विद्यालयका शिक्षकहरू, यातायात व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।













