तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम हुने
१४ पुस, हेटौँडा । गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा तमु ल्होसार मूल समारोह समितिको आयोजनामा हेटौंडामा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य जङ बहादुर गुरुङले यस वर्षको तमु ल्होसार हेटौंडा–६ रामनगरस्थित प्रस्तावित तमु सामुदायिक भवन निर्माण स्थलमा मनाइने जानकारी दिनुभयो ।
पौष १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा प्रमुख अतिथि रहनुहुनेछ । कार्यक्रममा तमु समुदायको मौलिक पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत समेत रहने बताइएको छ । कार्यक्रममा चर्चित कलाकार रबिन्द्र चेपाङको विशेष प्रस्तुति रहनेछ भने घातु र कैडा नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै, कार्यक्रममा मौलिक खानपानका लागि छुट्टाछुट्टै ५ वटा स्टल राखिने बताइएको छ । तमु ल्होसारलाई समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको छ ।
यस पर्वले तमु समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। तमु ल्होसारको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । जिल्ला कार्य समिति अध्यक्ष केशर बहादुर गुरुङले तमु ल्होसारको महत्वको बारेमा जानकारी गराउनु भएक थियो ।













