हेटौंडामा १२ औँ सडक खाना महोत्सव सुरु
१३ पुस, हेटौँडा । मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजनामा १२ औँ सडक खाना महोत्सव आइतबारदेखि हेटौंडामा सुरु भएको छ ।
“सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने आकर्षक नारासहित सुरु भएको यो महोत्सव पुस १६ गतेसम्म चार दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सडक खाना महोत्सवले हेटौंडाको पहिचानलाई थप बलियो बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मकवानपुर होटल एसोसिएसनका अध्यक्ष दिलिस गोविन्द जोशीले जानकारी दिनुभयो । महोत्सव हुप्रचौरको खेलमैदानदेखि पूर्वतर्फ फैलिएको उत्तर–दक्षिण सडक क्षेत्रमा आयोजना गरिएको छ । खाना महोत्सवमा पूर्वी नेपालको प्रख्यात परिकार भक्कादेखि नेवार समुदायमा प्रचलित योमरी, बारा लगायतका विभिन्न मौलिक तथा परम्परागत परिकारका स्टल राखिएका छन् । महोत्सवमा हाल ४७ वटा स्टल सञ्चालनमा रहेका छन् ।

यसका साथै बालबालिकाका लागि खेल उद्यान, हस्तकलाका सामग्रीका स्टलहरू पनि राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि अनुमानित १५ लाख ७२ हजार रुपैयाँ खर्च लाग्नेछ भने महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा हेटौंडा तथा मकवानपुर जिल्लाका साथै बाहिरी जिल्लाबाट र सीमावर्ती छिमेकी भारतबाट समेत अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ । महोत्सव सफल बनाउन हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ तथा संस्कृति तथा पर्यटन मन्त्रालयबाट १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । महोत्सव अवधिभर दर्शकलाई मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको नृत्य, गायन तथा ब्याण्ड प्रस्तुति समेत रहनेछ ।

उद्घाटन समारोहमा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, २ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जन, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल लगायतको आतिथ्यता थियो ।













