जलवायु परिवर्तनले अपांगता भएका व्यक्ति बढी जोखिममा

स्वर्णिम खबर
९ पुष २०८२, बुधबार २१:११

९ पुस, हेटौँडा । जलवायू परिवर्तन र अपांगता भएका व्यक्तिहरूको सवालमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको समन्वय तथा राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशको आयोजनामा हेटौंडास्थित प्रदेश सुशासन हलमा कार्यक्रम भएको हो । कार्यक्रममा जलवायू परिवर्तनको असर सबैमा परे पनि अपांगता भएका व्यक्तिहरू बढी जोखिम समूहमा पर्ने गरेको सरोकारवालाहरूले बताएका छन् ।
प्राकृतिक विपद्का समयमा सुरक्षित स्थानमा जान नसक्नु, आवश्यक सूचना नपाउनु, स्वास्थ्य सेवामा पहुँचको अभाव हुनु तथा राहत वितरणमा प्राथमिकता नपाइनुजस्ता कारणले जलवायू परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्ले अपांगता भएका व्यक्तिहरू दोहोरो मारमा परेको उनीहरूको भनाइ रहेको थियो । महासंघ बागमती प्रदेशका सचिव यज्ञप्रसाद सुवेदीले हालका नीतिहरूमा जलवायू परिवर्तनका विषय समेटिए पनि अपांगता भएका व्यक्तिलाई केन्द्रमा राखेर नीतिगत व्यवस्था नभएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव केदार वरालले जलवायू परिवर्तनको असर अपांगता भएका व्यक्तिमा अझ बढी देखिएको बताउनुभयो । उहाँले अपांगता केन्द्रित कार्यक्रम तथा नीतिहरू ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । समावेशी विकास बिना समाज सभ्य, सुसंस्कृत र सम्पन्न बन्न नसक्ने उहाँको धारणा थियो ।
कार्यक्रममा सहभागीहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म अपांगता–मैत्री दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा सहभागीहरूले जलवायू परिवर्तनको सामना गर्न समावेशी नीति र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । कार्यक्रममा जलवायू परिवर्तनको वर्तमान अवस्था, नीतिगत व्यवस्था, जलवायू परिवर्तनमा अपांगता समावेशीकरण तथा विपद् व्यवस्थापनमा अपांगता सम्बन्धी कानुनी र नीतिगत अवस्थाका विषयमा विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको थियो । सचिव सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, फेकोफनका प्रतिनिधि, अपांगता भएका व्यक्तिहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*