प्रादेशिक कृषि थोक बजार उपमहानगरपालिकालाई हस्तान्तरण
१८ श्रावण, हेटौँडा । हेटौंडा ११, थानाभ¥याङमा निर्माण भएको प्रादेशिक कृषि थोक बजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको थोक बजार आइतबार आयोजित एक कार्यक्रमको बीच उद्घाटन एवम् हस्तान्तरण गरिएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा थोक बजार भवनको उद्घाटन गर्नुभएको हो । कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थोक बजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको बजारमा थोक बिक्रीका लागि दुई तलाको भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् ।

उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले थोक बजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमको रूपमा अघि बढाएको बताउनुभयो । थोक बजार किसान, व्यवसायी र उपभोक्ता सबैलाई लक्षित गरी सञ्चालन हुने उहाँको भनाई छ । प्रादेशिक थोक बजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा मन्त्रालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजना अनुरुप प्रविधिमैत्री थोक बजार निर्माणका लागि यस आर्थिक वर्षमा ९ वटा पालिकालाई बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।

त्यसैगरी नगर प्रमुख लामाले कृषि थोक बजार किसानप्रतिको सम्मान भएको बताउनुभयो । किसान लक्षित भवनमा मन्त्रालय राखेको प्रति असन्तुष्टि जनाउँदै उहाँले किसानले सुविधासम्पन्न भवन प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो । नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यविधि स्वीकृत भएर आएलगत्तै दशैँअघि नै बजार सञ्चालनमा ल्याउने बताउँदै नगर प्रमुख लामाले थोक बजार सञ्चालनको जिम्मा सिधै किसानलाई दिने उपमहानगरपालिकाको तयारी रहेको उल्लेख गर्नुभयो ।
बागमती प्रदेशभित्र उत्पादित कृषि उपजहरुको सहज र समुचित बजार व्यवस्थापनद्वारा कृषक र उपभोक्ता दुवैपक्षलाई उचित लाभ प्रदान गर्न तथा हालको कृषि प्रणालीलाई व्यवसायिक कृषिमा रुपान्तरण र सकारात्मक योगदानका लागि थोक बजार सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कृषि थोक बजार भित्र प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि राखिएको छ ।













