३६ बुँदामा कृषि मन्त्रालयको प्रगति विवरण सार्वजनिक
१५ श्रावण, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१÷०८२ मा मन्त्रालयबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ ।
बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले ३६ बुँदामा मन्त्रालयमा उपलब्धि विवरण सार्वजनिक गर्नुभएको हो । कृषि विकास कार्यालय र पशु सेवा कार्यालय नरहेको जिल्लाहरुमा कृषि र पशु सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह गराइएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण गर्न ५ वर्षसम्म सञ्चालन हुने गरी गत आर्थिक वर्ष र चालु आर्थिक वर्षबाट छनौट भएका ७० वडामा साझेदार संग सम्झौता भई कार्यक्रम कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार प्रत्येक वडामा ४० लाखका दरले सहयोग प्रदान गरिएको छ । भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणको लागि १५ लाख ३२ हजार ३ सय २६ भेडा बाख्रालाई खोप लगाइएको उपलब्धि विवरणमा समावेश गरिएको छ ।
यसैगरी ७१ हजार ९ सय ७७ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क रुपमा लगाइएको उल्लेख गरिएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा दैनिक करिब ६० हजार लिटर दुधको पाउडर उत्पादन गर्न सक्ने गरी निर्माण सम्पन्न भएको दुध पाउडर प्लान्टको सञ्चालन विधि अन्तिम चरणमा रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । त्यसैगरी हेटौंडा ११ मा प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको प्रादेशिक कृषि थोक बजार यही श्रावण १८ गते उपमहानगरपालिकालाई हस्तान्तरण गरी तत्काल सञ्चालनमा ल्याइने समेत उहाँले जानकारी दिनुभयो ।
गुणस्तरीय भेटेरिनरी सेवालाई विस्तारको लागि चितवनमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण गरिएको उहाँले दाबी गर्नुभयो । यसैगरी पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसंगको समन्वयमा प्रदेशका २६ स्थानमा निर्माणधिन ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ मध्ये मकवानपुरमा ३ वटा, सिन्धुलीमा २ , रामेछापमा २, दोलखामा ३, सिन्धुपाल्चोकमा ३, काभ्रेमा ५ र चितवनमा ४ गरी २२ वटा भवनको निर्माण कार्य सम्पन्न भई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको समेत मन्त्रालयको कार्य प्रगति विवरणमा समावेश गरिएको छ ।
यसैगरी मन्त्रालयले कृषि ज्ञान रत्न प्रवद्र्धन कार्यक्रम अन्तर्गत स्नातक गरेकोलाई ८ लाख, स्नात्तकोत्तर गरेकोलाई १० लाख र विद्यावारिधी गरेकोलाई २२ लाखको दरले सहयोग गरिएको समेत उहाँले बताउनुभयो ।
त्यस्तै चितवन जिल्लामा उन्नत विउ उत्पादनका लागि १ हजार २ सय ५३ कृषकहरुलाई १ करोड ४४ लाख रुपैंया प्रोत्साहन रकम उपलब्ध गराइएको समेत मन्त्रालयको उपलब्धिमा समावेश गरिएको छ । यस्तै प्रदेशको ९ वटा स्थानीय तहमा सुचना प्रविधिमा आधारित कृषि बजार केन्द्र स्थापना गरी विषादी परीक्षण प्रयोगशाला, कृषि एम्बुलेन्स सहितको सेवा समेत उपलब्ध गराउँदै आएको मन्त्री श्रेष्ठले दाबी गर्नुभएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा कुल विनियोजित बजेट २ अर्ब ५० करोड ६४ लाख मध्ये ६७ दशमलब २९ प्रतिशत बजेट खर्च गरेको थियो ।













