हेटौंडामा असार १४ र १५ गते बागमती युवा उद्यमी रोजगार महोत्सव हुने

स्वर्णिम खबर
११ असार २०८२, बुधबार १८:३९

११ असार, हेटौँडा । हेटौंडामा बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२ हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा युवाहरूलाई रोजगारीमा प्रत्यक्ष जोड्ने लक्ष्यसहित २ दिन महोत्सव आयोजना गरिन लागेको हो । महोत्सवमा रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगार प्रदायकसँग प्रत्यक्ष साक्षात्कार गराई रोजगारीको अवसर प्रदान गरिने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले जानकारी दिनुभयो ।
असार १४ र १५ गते पल्पसा प्याराडाइजमा हुने महोत्सवमा २५ भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय रोजगारदाता कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट रोजगारी प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । विशेषगरी युवावर्गलाई लक्षित गरी आयोजना गरिएको दुई दिने कार्यक्रमबाट कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी र रोजगारीको खोजीमा रहेका युवाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा अन द स्पट रोजगारीका साथै व्यवसाय गर्न चाहने युवाहरूका लागि क्यारियर मार्गदर्शन, व्यवसायिक अवसर, बजारीकरण तालिम, बैंक कर्जा प्रवाहको तयारी, उद्यमशीलता प्रवद्र्धन, व्यवसायिक तालिम कार्यशाला, आत्मविश्वास विकास, सीभी लेखन, अन्तर्वार्ता तयारीका सीपहरु र विषयगत अन्तरक्रिया लगायतका कार्यक्रमहरू समावेश गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौंलागाईले बताउनुभयो ।
महोत्सव सञ्चालनका लागि १४ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गर्नुहुनेछ । महोत्सव सञ्चालनका लागी मन्त्रालयले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*