‘युवाहरु राजनीतिबाट टाढा हुँदा देश ५० वर्ष पछाडि जान सक्छ’
२९ वैशाख, हेटौँडा । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले देशको युवा शक्ति राजनीतिबाट बेखबर बन्न नहुने बताउनुभएको छ ।
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा सञ्चालित प्रदेश युवा सम्मेलन अन्तर्गतको ‘ नीति, नेतृत्व र युवा सहभागिता’ विषयक प्यानल छलफलमा बोल्नुहुँदै उहाँले युवाहरु देशको राजनीति प्रति सचेत हुनुपर्ने बताउनुभयो । दलका शीर्ष नेतृत्वहरु राजनीतिबाट बाहिरिँदै गर्दा देश ‘कम्पास हराएको जहाज’ जस्तो हुन सक्ने भएतापनि युवाहरु राजनीतिबाट टाढा हुँदा देश ५० वर्ष पछाडि जान सक्ने उहाँको भनाई छ ।
मुख्य सचेतक बर्तौलाले पछिल्लो समय युवा पुस्ताले राजनीतिलाई घृणाको दृष्टिकोणले हेर्ने गरेको समेत गुनासो गर्नुभयो । देशको आर्थिक, सामाजिक लगायत सबै क्षेत्रको विकासको नेतृत्व राजनीतिले गर्ने उहाँको धारणा छ । नेतृत्वको आलोचना मात्रै नगर्न पनि उहाँले आग्रह गर्नुभयो । मुख्य सचेतक बर्तौलाले जिम्मेवारी बोधका साथ युवापुस्ताले नेतृत्वलाई काउन्टर दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले राजनीतिबाटै देशको आर्थिक, सामाजिक परिवर्तन सम्भव भएको बताउनुभयो । देशको राजनीतिलाई व्यवस्थित गर्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उहाँको भनाई छ । सहमहामन्त्री परियारले राज्यको हरेक तहमा युवाको नेतृत्व आवश्यक छ भन्ने विषयमा प्रमुख राजनीतिक दलहरु एकमत रहेको बताउनुभयो । युवा पुस्तालाई आर्थिक उपार्जनको बाटोमा लैजानुपर्ने समेत उहाँको भनाई छ ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)ं का सांसद् पूर्णबहादुर घर्तीले नेतृत्वको निर्माण उमेरले नभई विचारले गर्ने बताउनुभयो । अहिले नेपालमा लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्व चयन हुने व्यवस्था भएकोले ओली, देउवा, प्रचण्ड बारम्बार नेतृत्वमा रहन्छ भन्नु उचित नभएको उहाँको भनाई छ ।
सांसद् घर्तीले शीर्ष नेतृत्वलाई लोकतान्त्रिक विधिबाटै पराजित गर्न युवा पुस्ताले उत्कृष्ट सिद्धान्त र विचार प्रतिपादन गर्नुपर्ने बताउनुभयो । समयको अधिकतम सदुपयोग गरेर आफुलाई देश र जनता प्रति समर्पित गर्न समेत उहाँले युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजीकरण अग्रज पत्रकार दिलभुषण पाठकले गर्नुभएको थियो । सम्मेलनमा ७ वटै प्रदेशबाट ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।












