उपाधि जित्नेमा दुबै टोली विश्वस्त
२४ वैशाख, हेटौँडा । हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदैछ ।
उपाधिको लागि दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन् । एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधी जित्ने बताउनुभयो । पुलिस पनि राम्रो टिम भएको बताउँदै उहाँले रक्षात्मक नभई आक्रमक खेल प्रस्तुत गर्ने बताउनुभयो ।
त्यसैगरी एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफुहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधी जित्ने गरि खेल्ने दावी गर्नुभयो ।
यस्तै पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनी कम्पिटिसनमा उत्रने बताउनुभयो । एपीएफ राष्ट्रिय खेलाडीले भरिपूर्ण बलियो भए पनि आफुहरुले जित्ने गरि खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको प्रशिक्षक सिलवालले बताउनुभयो । यो पटक एपीएफलाई रोक्ने आफुहरुको रणनीति रहेको पनि उहाँले बताउनुभयो । पुलिसकी कप्तान निरुता थापाले यो उपाधी जित्ने गरि आफुहरु मैदान उत्रने बताउनुभयो ।
मंगलबार भएको सेमिफाइनल खेलमा चितवनलाई पराजित गर्दै पुलिस र संकटालाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल वैशाख २५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।













