शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप
१५ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाउनुभएको हो । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? उहाँको प्रश्न छ ।
उहाँले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप लगाउनु भयो ।
शिक्षकहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।













