टी–२० नेत्रहीन महिला विश्वकप क्रिकेटको लागि छनौट प्रतियोगिता सुरु
१० फागुन, हेटौँडा । नेपालमा हुने पाँचौं टी–२० नेत्रहीन महिला विश्वकप क्रिकेट २०२५ मा सहभागिताका लागि प्रारम्भिक छनौट राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडा स्थित हुप्रचौर क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको छनौट प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुने नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ । छनौट चरणको प्रतियोगितामा नेपालभरका ३८ जना नेत्रहीन महिला क्रिकेट खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष पवन घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा २० देखि २३ जना खेलाडी छनोट हुनेछन् । विश्वकप क्रिकेट प्रतियोगितामा १५ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछन् । सहभागी हुने अन्तिम १५ जना खेलाडीको टुंगो आगामी वैशाखमा हुने दोस्रो चरणको छनोट प्रतियोगिताबाट लगाइने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
महिला क्रिकेट विश्वकप प्रतियोगिता नोभेम्बर १३ देखि नेपालमा हुँदैछ । विश्वकपमा घरेलु टोली नेपाल सहित भारत, पाकिस्तान, इग्ल्यान्ड, अष्टेलिया र अमेरिकाले सहभागिता जनाउनेछन् । नेपालमा नेत्रहीन क्रिकेटको सुरुवात २०६३ सालदेखि सुरु भएको हो । विश्वमा नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालबाटै सुरु भएको हो ।













