बागमती गोल्डकपको सेमिफाइनल समीकरण पुरा

स्वर्णिम खबर
८ फाल्गुन २०८१, बिहीबार १८:०५

८ फागुन, हेटौँडा । बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
बिहिबार भएको खेलमा मछिन्द्र क्लब बिजयी भएसंगै अन्तिम ४ मा पुग्ने चार वटै टोलीको टुंगो लागेको हो । सर्लाहीको बागमती युवा क्लबलाई १–० ले हराउँदै मछिन्द्रले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टी मार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछी रेफ्रीले पेनाल्टी दिएको थियो । त्यस मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेको हो । खेलको म्यान अफ द म्याच भने मछिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि भएको खेलहरुमा बिजयी हुँदै सशस्त्र प्रहरीको एपीएफ क्लब, थ्री स्टार र चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलका खेलहरु फागुन ९ र १० गते हुनेछ । ९ गते हुने पहिलो सेमिफाइनल खेल एपीएफ र चर्च ब्वाइज बीच हुँदा १० गते हुने दोश्रो सेमिफाइनल खेलमा मछिन्द्रले थ्री स्टारको सामना गर्नेछ ।
आगामी फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*