संकटलाई हराउँदै एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा
७ फागुन, हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफलाई जीत दिलाउन सुजन कुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरे । पुलामी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेको थियो । खेलको म्यान अफ द म्याच एपीएफका मणि कुमार लामा घोषित भए ।
उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।
गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हो । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।













