माघ ९ गतेदेखि सुरु खेलकुद महोत्सवको फागुन २ गते उद्घाटन
२ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा जारी दोश्रो खेलकुद महोत्सव– २०८१ को शुक्रबार उद्घाटन गरिएको छ ।
गत माघ ९ बाट सुरु भएको खेल महोत्सवको शुक्रबार हेटौंडा ४ स्थित स्थित हुप्रचौरमा बागमती प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले विद्यालय तहबाटै विद्यार्थीहरुमा खेल भावनाको विकास गर्नुपर्ने बताउनुभयो । खेल क्षेत्रको उचित व्यवस्थापन र विकास गर्न सके भावी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने उहाँको भनाई छ । पूर्व मन्त्री श्रेष्ठले तालिमको माध्यमबाट खेलाडीहरुलाई अभ्यस्त बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

यसैगरी ४ नं. वडाका वडा अध्यक्ष नविन सिग्देलले ठुला भौतिक संरचना मात्रले विकासलाई पूर्णता दिन नसकिने बताउनुभयो । उहाँले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, बौद्धिक विकास गराउनु आजको आवश्यकता भएको बताउनुभयो ।

महोत्सवमा खेल व्यवस्थापन गर्ने विद्यालयहरुलाई खेल सामग्री समेत हस्तान्तरण गरिएको थियो । आधुनिक राष्ट्रिय मा.विले भलिबल, भुटनदेवी मा.विले क्रिकेट र नवोदय शिशु सदनले बास्केटबल प्रतियोगिताको व्यवस्थापन गरेको हो । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, उपमहानगरपालिका पूर्व नगर प्रमुख हरिबहादुर महत, वडा–५ का वडा अध्यक्ष शुशिल घिमिरे, वडा–१० का वडाअध्यक्ष फूर्वा दोर्जे लामा लगायतको उपस्थिति रहेको थियो । उद्धाटन पश्चात् वडा नम्बर–४ ले वृहत ¥याली समेत निकालेको थियो ।














