४ सय केभी क्षमताको हेटौँडा सबस्टेसन तयार
२६ जेठ, हेटौँडा । चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सवस्टेशन निर्माण भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै दुई सय २० र एक सय ३२÷११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ ।
हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम पनि चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।
आयोजना अन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ ।
हेटौँडा सबस्टेसनलाई आवश्यकताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरि सकिएको आयोजना प्रमुख देवकोटाको भनाई छ ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हेटौँडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो ।













