टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने

स्वर्णिम खबर
१५ जेष्ठ २०८१, मंगलवार १६:४४

१५ जेठ, हेटौँडा । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले ५२ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपाल मकवानपुरको संयोजनमा आयोजित पत्रकार सम्मेलनमार्फत् सप्ताहव्यापी कार्यक्रम जेठ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । पहिलो दिन जेठ १७ गते हेटौंडा– १९ बस्तीपुरमा विहान ७ बजे रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
त्यस्तै १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीको विक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । जेठ १९ गते नगरभित्रका सम्पूर्ण टोल विकास संस्थाहरुमा विहान ७ बजे सफा हेटौंडा अभियान अन्तरगत सरसफाई कार्यक्रम र दिउँसो २ बजे वन विज्ञान अध्ययन संस्थानमा मेयर÷उपमेयरसंग बालबालिका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै २० गते दिउँसो १ बजे रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने र २१ गते विहान ६ बजे हुप्रचौरबाट उपमहानगरपालिकाको कार्यालयसम्म वातावरणीय सचेतना मुलक साइकल र्याली तथा सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।
जेठ २२ गते विहान ७ बजे मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा दिउँसो ३ बजे रोयल पार्टी प्लालेस मा खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
त्यस्तै जेठ २३ गते विहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण कार्यक्रम आयोजना गर्नुको साथै पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । सोही दिन वातावरण सचेतना सम्बन्धी र्यालीले नगर परिक्रमा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*