साउन महिनाभर पशुपति परिसरमा महायज्ञ हुने

स्वर्णिम खबर
३ जेष्ठ २०८१, बिहीबार १६:५९

३ जेठ, काठमाडौँ । आगामी साउन महिनाभर काठमाडौँको पशुपति परिसर वनकालीमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।
ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लिलामणि रमण निरौलाले जानकारी दिनुभयो ।
इतिहास मै पहिलो पटक आयोजना हुन लागेको महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिक सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम नियमित रुपमा सञ्चालन हुने व्यवस्थापक निरौलाले जानकारी दिनुभयो
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
मानवसेवा फाउण्डेसन अन्तर्गत हाल मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । स्थापना भएको एक वर्ष मात्र भएको उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका ७५ जना भन्दा बढी अभिभावकविहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् ।
आगामी साउन महिनाभर सञ्चालन हुने महायज्ञमा सहभागीता जनाउन र सहयोग गर्नको लागि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*