हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन तरुण दलको चेतावनी

स्वर्णिम खबर
२९ बैशाख २०८१, शनिबार १९:३१

२९ वैशाख, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन आग्रह गरेको छ ।
अस्पताललाई वाग्मती प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी अगाडि बढाएसँगै नेपाल तरुण दलले विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तरुण दल जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) र तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) ले संयुक्तरुपमाम विज्ञप्ति जारी गर्दै स्थानीय तथा प्रदेश सरकारको गठन भएसँगै ‘रिफर सेन्टर’को रुपमा रहेको हेटौंडा अस्पतालको सेवामा केही परिवर्तन भइरहेको अवस्थामा प्रदेश सरकारले एक्कासी हेटौंडा अस्पतालको इतिहास मेटाउने गरी प्रतिष्ठानमा विलय गराउने तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
हेटौंडा अस्पतालको भौतिक संरचना र अस्तित्वलाई कायम राख्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै छुट्टै संरचना निर्माण गरी हेटौंडामै सर्वसुलभरुपमा चिकित्सा शिक्षा पढाउने वातावरण निर्माण गर्न तरुण दल आवश्यक सहयोग गर्ने विज्ञप्तिमार्फत् प्रतिबद्धता समेत जनाइएको छ । हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभिएको खण्डमा तरुण दल आन्दोलनमा उत्रन बाध्य हुने केन्द्रीय सदस्य दाहालले जनाए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*