पुरुषोत्तम आचार्यको नेतृत्वमा नेपाली भाषा शिक्षक समितिको हेटौंडा नगर समिति गठन
१० चैत्र, हेटौँडा । नेपाली भाषा शिक्षक समिति मकवानपुरको प्रथम हेटौंडा नगर समिति गठन गरिएको छ ।
शनिबार भएको जिल्लाको पाचौँ भेलाबाट पुरुषोत्तम आचार्यको नेतृत्वमा सर्वसम्मत रुपले ११ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिको नगर सचिवमा सि.एम. रिमाल र कोषाध्यक्षमा गोमा दाहाल चयन भएका छन् । नगर समितिमा उपाध्यक्ष पद नहुने विधानमा व्यवस्था रहेको समितिका जिल्ला सचिव ज्योति न्यौपानेले बताउनुभयो । समितिको कार्यकाल ३ वर्षको हुने छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा कोषाध्यक्ष शुशिला चौलागाईले आर्थिक प्रतिवेदन र सचिव न्यौपानले समितिले गरेका कार्यक्रम, गतिविधि तथा आगामी योजनाहरुको प्रतिवदेन पेश गर्नुभएको थियो ।
समितिका अध्यक्ष केशव प्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रमेश विडारी, समितिका आजिवन सदस्य ध्रुव भुजेल, समितिका सल्लाहकार रमेशमोहन अधिकारी, ह्यग्रीव आचार्य लगायतले शुभकामना दिएका थिए ।
नेपाली भाषा शिक्षणका क्रममा आईपरेका समस्या समाधान गर्ने हेतूले २०५८ सालमा विधिवत् रुपमा भाषा समिति गठन भएको हो ।













