मनहरीमा हामीलाई अपमान गरियोः निर्माण व्यवसायी संघ
१३ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकाका ५ राजनीतिक दलहरुले आफूलाई अपमान गरेको आरोप लगाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दैै निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद प्रकट गरेको छ । संघ अध्यक्ष बालगोपाल कडेँलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको, गाउँपालिकासँग पुल निर्माण सम्पन्न गर्ने सम्झौताको मिति बाँकी नै रहेको अवस्थामा राजनीतिक आवरणमा विना आधार सम्बन्धि पक्षसँग छलफल र समन्वय नगरी गरिएको विरोधको संघले भत्सर्ना गर्ने बताउनुभयो ।
उहाँले पुल निर्माणस्थल राष्ट्रिय निकुञ्जको क्षेत्राधिकार भित्रपर्दा भएको प्राविधिक कठिनाई, वर्षायाममा बाढीका कारण भएको क्षती, ढुंगागिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको उपलब्धतामा भइरहेको कठिनाइलगायत असहजतालाई झेलिरहेको परिस्थितिमा राजनीतिक दलले सहयोग गर्नुपर्नेमा उल्टै आन्दोलन गर्नु दुःखद् भएको बताउनुभयो । अध्यक्ष कँडेलले स्थानीय राजनीतिक दललाई तत्काल पुल निर्माणमा सहजता प्रदान गरी तोकिएकै समयमा काम सम्पन्न गर्ने वातावरण तयार पारिदिन समेत अनुरोध गर्नुभयो ।













