मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती
१३ फागुन, हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँविरुद्ध गैरकानुनी तथा गैरराजनीतिक व्यवहार गरेको भन्दै नेपाल तरुण दल मनहरीले आइतबार गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ ।
४ वटा पुल निर्माणको जिम्मेवारी पाएकोमा ढिला सुस्ति भएको भन्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्वीरसहित संयुक्त दबाबको नाममा मनहरीका पाँच राजनीतिक दलले चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै तरुण दलले गाउँ कार्यपालिकाको कार्यालय अगाडि नै विरोध सभा गरेको हो । विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनीतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको आरोप लगाउनुभयो । खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको सभापति बर्तौलाले बताउनुभयो ।

पुलको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा निर्माण व्यवसायीको मनोबल गिराउने काम गर्नु पूर्वाग्रह मात्रै भएको उहाँको भनाइ छ । कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मान हानी गर्नेलाई कारवाहीको माग गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, नेता नुरोज पौडेल, तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेतीलगायत नेपाली कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।













