बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षारोपण
६ भाद्र, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नु हुदै बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण गर्न सबै सँग आग्रह गर्नुभयो । विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक भएको उहाँको भनाई थियो । लोपोन्मुख प्रजातीको विरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाईसकेको हुँदा दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नुपर्नेमा सचिव दाहालले जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले यस क्षेत्र दारको लागि उपयुक्त स्थान रहेको हुँदा चरीचरण नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य सव डिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, मकवानपुर गढीका प्रमुख डटेन्द्र गाले लगायतको सहभागिता थियो । दार संरक्षण समितिका अध्यक्ष मान बहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा १ हजार दारको वृक्षारोपण गरिएको थियो ।















