राजनीतिक विविधता भएतापनि विकासमा एकता हुनुपर्छः नेता बानिंया
२५ साउन, हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सांसद ईन्द्र बहादुर बानियाले राजनीतिक विविधता भएतापनि विकासमा एकता हुनुपर्ने बताउनुभएको छ ।
आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले विपी गणेशमान स्मृति शान्ति पार्कमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले यस पार्कलाई धार्मिक पर्यटकीय पार्क बनाउनु पर्नेमा जोड दिनुभयो । नेता बानियाँले समाजमा धेरै थरीका मानिसहरु बस्ने भएकाले सबैको सुझाव र सल्लाह लिई पार्कलाई आयआर्जनको रुपमा समेत विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा धुपी, मेङगो स्टीक, रक्तचन्दन लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, ७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक., निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, पर्यटन विकास आयोजना, हेटौडाका निमित्त प्रमुख रोशन कुमार श्रीबास्तव, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदु कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको आयब्यय विवरण पेश गर्नुको साथै पार्कका सचिव भरत सापकोटाले पार्कले गरेका विभिन्न गतिविधीको बारेमा जानकारी गराउनुभएको थियो ।













