भेट्रान्स साइक्लिङ प्रतियोगितामा हरिराम राई प्रथम
१५ जेठ, हेटौँडा । हिमालयन राइडर्स क्लबको आयोजनामा भएको भेट्रान्स साइक्लिङ प्रतियोगितामा हरिराम राई प्रथम हुनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सोमबार भएको प्रतियोगितामा ३० जना प्रतिस्पर्धीलाई पछि पारेर राई प्रथम हुनुभएको हो । १५ किलोमिटरको दूरी ३० मिनेट ५१ सेकेण्डमा राईले पार गर्नु भई प्रथम स्थान हासिल गर्नुभएको हो । ३० मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै हरिशरण थापा दोस्रो हुनु भयो भने ३० मिनेट ३३ सेकेण्डमा राजु थापा तृतीय हुनुभयो । यस्तै ३१ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पार गरी राजु गुप्ता चौथो हुँदा ३२ मिनेट २० सेकेण्डमा दूरी पार गर्ने राजकुमार श्रेष्ठ पाँचौ हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । चौथो र पाँचौ स्थानमा रहने दुईजनाले जनही २ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएकाहरुको सहभागिता रहेको थियो । हेटौँडा–४, हुप्रचौरबाट सुरु भई शान्तिनगर, कमाने, नागस्वती, रंगशाला, चौघडा, क्याम्पाडाँडा, शान्तिनगर, भैरवरोड हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो । क्लबका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, हेटौँडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारको लगायतको आतिथ्यता रहेको थियो ।













