वैशाख दोस्रो सातासम्म देशभरका विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन्ः शिक्षा मन्त्रालय
१७ वैशाख, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ ।
आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो । वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सह–सचिव तथा प्रवक्ता दीपक शर्माले बताउनुभयो । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६–१० को लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट कक्षा १–५ को लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाई गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २६७ स्थानीय विक्रेताहरुमार्फत बिक्री वितरण भइरहेको उहाँले बताउनु भयो ।
उहाँले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले २ दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान जारी रहेको उल्लेख गर्नुभयो ।
उहाँले स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्न, विद्यालय गाम्भ, स्थानान्तरण गर्न र आवश्यक परेमा बन्द पनि गराउन सक्ने बताउनुभयो ।













