टिआरसीका लागि विशेष समिति बनाइने, चालु संसद अधिवेशन १५ गतेसम्म चल्ने
११ वैशाख, काठमाडौँ । शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठकले संसदीय समितिहरुको टुंगो लगाएका छन् ।
सोमवार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले नेतृत्व गर्नेगरी टुंग्याएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाई समितिमा सभापति नेपाली काँग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको बताउनु भयो । उहाँले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको पनि बताउनु भयो । उहाँले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक भने १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको बताउनु भयो । उहाँले संसदीय सुनुवाई समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउने सहमति भएको पनि बताउनु भयो । उहाँले चालु अधिवेशन यही वैशाख १५ गतेसम्म चल्ने पनि बताउनु भयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाइ छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति भएको बताउनु भयो । उहाँले चालु संसद अधिवेशन अब एक, दुई दिनमात्रै चल्ने बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद भित्र भएका सबै राजनीतिक दलहरुसँग आपसमा सहमतिका आधारमा नै संसद सञ्चालन गरेर अघि बढ्ने सहमति अनुसार शीर्ष दलका नेताहरुबीच सहमति भएको बताउनु भयो । उहाँले सबै दलहरुलाई समेटेर नै विषयगत समितिहरु पनि टुंग्याइएको बताउनु भयो ।
प्रमुख सचेतक लेखकले चालु अधिवेशन अब दुई, तीन दिन मात्रै सञ्चालन हुने बताउनु भयो ।













