देशको विद्यमान अवस्था बदल्न राजनीतिक ध्रुवीकरण आवश्यकः महासचिव पोखरेल

स्वर्णिम खबर
९ बैशाख २०८०, शनिबार १२:४३

९ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरूरी रहेको बताउनुभएको छ ।
महासचिव पोखरेलले संचारकर्मीसँग कुरा गर्दै देशको विद्यमान परिस्थितिको समाधान गर्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभएको हो । उहाँले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी हुने बताउनुभयो । त्यस्तै वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै दलहरु हुँदा बढ्ने उहाँको भनाइ छ । उहाँले सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो ।
महासचिव पोखरेलले नेपाली कांग्रेसको संकोचपूर्ण व्यवहारका कारण २०४७ सालमा जनअपेक्षा अनुसारको लोकतान्त्रिक संविधान बन्न नसकेको बताउनुभयो । उहाँले तत्कालिन नेकपा माओवादीको विद्रोहलाई प्रयोग गर्दै राजाले आफूलाई क्रियाशिल बनाएका र बाह्य शक्तिहरुले समेत आफ्नो प्रभाव विस्तार गर्न पुगेका बताउनुभयो । उहाँले राजनीतिक दलहरुकाबीचमा भएको १२ बुँदे समझदारीले १९ दिने जनआन्दोलन सफल भएको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारहरुले धेरै जनपक्षीय काम गरेको उहाँको भनाइ थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*