आगामी आर्थिक वर्षको बजेट नयाँ र गुणात्मक रुपमा ल्याइनेछः प्रधानमन्त्री दाहाल
२७ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको हो । उहाँले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताउनु भयो । उहाँले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने समेत उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।













