सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छः सचेतक बर्तौला
१४ चैत्र, काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।
सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु उहाँहरुको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने जिकिर गर्नुभयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताउनु भयो ।
सचेतक बर्तौलाले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गर्नुभयो । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उहाँले बताउनुभयो । उहाँले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरुको जञ्जालमा पर्नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरुको रहेको पनि उल्लेख गर्नुभयो ।













