प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

स्वर्णिम खबर
६ चैत्र २०७९, सोमबार १७:५०

६ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो । प्रतिनिधिसभा बैठकमा भएको मतदानमा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो । यसैबीच संसद्मा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले संसदमा पहिलो दिन नै संसद विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिनुभयो ।
उहाँले संसदमा पहिलो दिन नै संसद विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति जस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको अवस्थामा आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ शुरुवात गरेको समेत बताउनुभयो ।
प्रधानमन्त्री दाहालले एमालेका अध्यक्ष ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको समेत बताउनुभयो । उहाँले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरुमा छोडेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पार्नुभयो । उहाँले एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको समेत बताउनुभयो ।
प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*