संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति आवश्यकः राष्ट्रपति पौडेल

४ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार शीतल निवासमा संघीय र प्रदेश सांसदहरूका लागि राखिएको चियापान समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले अहिले पनि मुलुकमा थुप्रै चुनौती रहेको र त्यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ संघीय सरकार तथा संघीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यले सकारात्मक भूमिका खेल्ने आफ्नो अपेक्षा रहेको समेत बताउनुभयो ।
यसैगरी समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कार्यसम्पादनमा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताउनुभयो । उहाँले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन तत्पर रहने समेत उल्लेख गर्नुभयो ।
गएको फागुन २९ गते पौडेलले राष्ट्रपति पदको पदभार सम्हाल्नु भएको हो ।