उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

स्वर्णिम खबर
३ चैत्र २०७९, शुक्रबार १७:२३

३ चैत्र, काठमाडौँ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।
शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको उपराष्ट्रपति पदको निर्वाचनमा जसपा नेता यादव विजयी हुनुभएको हो । उहाँले प्रदेश सभाबाट ३२९ जना सांसदहरुको मत पाउनुभयो भने संघीय संसदबाट १८४ जना सांसदको मत पाउनुभयो । उहाँको प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यले प्रदेश सभाबाट १६९ जना सांसदको मत पाउनुभएको छ भने संघीय संसदबाट १०४ जना सांसदको मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रदेश सभामा जसपा उम्मेदवार प्रमिला कुमारीले १ मत प्राप्त गर्नुभयो भने संघीय संसदबाट कुनैपनि मत प्राप्त गर्नुभएको छैन । यद्यपी उहाँले यसअघि नै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको थियो । त्यस्तै अर्का उपराष्ट्रपतिका उम्मेदवार जनमत पार्टीकी नेता ममता झाले प्रदेश सभाबाट १५ र संघीय संसदबाट २३ मत प्राप्त गर्नुभयो । यससँगै जसपा संसदीय दलका नेता यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत शुक्रवार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसदतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*