सरकारद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
२१ फागुन, काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको सातौं वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आईतवार राष्ट्रपति निवास शितलनिवासमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा गरेका कामकारबाही समेटिएको प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७८÷०७९ मा संघीय शासन प्रणालीलाई सुदृढ गरी सुशासनलाई राज्यका सबै तहमा संस्थागत गर्न, विकास निर्माणलाई गति दिन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न विभिन्न प्रयास भएको बताउनुभयो । संघीयतालाई सुव्यवस्थित बनाउन गएको निर्वाचन सफल बनाएको र गृह प्रशासन सक्षम र सबल बनाएको प्रधानमन्त्री दाहालले दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई पढेर सुनाउनुभएको प्रतिवेदनमा सार्वजिनक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड स्वीकृत भएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले यस वर्ष ठूला, मझौला, घरेलु तथा साना गरी ३०९ वटा उद्योग दर्ता भएको र विदेशी लगानीका २९५ वटा परियोजनामार्फत ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रश्ताव स्वीकृत गरिएको बताउनु भयो । उक्त परियोजना प्रश्तावबाट १६ हजार ९०५ नयाँ रोजगारी सिर्जना हुने आँकलन गरिएको पनि बताउनु भयो । आर्थिक वर्ष २०७९÷०८० देखि कार्यान्वयन हुने गरी १० वर्ष विद्यालय शिक्षा क्षेत्र योजना तयार भएको बताउनु भयो ।
उहाँले सरकार नागरिकको विकास र सुशासनको उच्च अभिष्टपूरा गर्न आगामी दिनमा प्रतिवद्ध भएर काम गर्ने बताउनु भयो ।













