सुनगाभा बोर्डिङको २३ औं अभिभावक भेला सम्पन्न
१८ फागुन, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २३ औं अभिभावक भेला विहिवार सम्पन्न भएको छ ।
भेलालाई सम्वोधन गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले शिक्षाको क्षेत्रमा सुनगाभा स्कूलले उत्कृष्ट कार्य गरेको बताउनुभयो । विद्यालयले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुशी ब्यक्त गर्दै उहाँले संस्थागत विद्यालयमा सुनगाभा उत्कृष्ट रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष रामहरि न्यौपानेले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

भेलामा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसैगरि विद्यालयको समग्र विकासमा सहयोग गरेकाले विद्यालयका प्रिन्सिपल अरुण पराजुली सहित शिक्षक, शिक्षिका र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, प्यावसन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, विद्यालयका प्रवन्ध सञ्चालक रामहरि चौलागाई, सचिव नारायण प्रसाद अधिकारी, लगायतको उपस्थिति रहेको थियो । विद्यालयमा हाल ६ सय २० जना विद्यार्थीहरु रहेको प्रिन्सिपल अरुण पराजुलीले बताउनुभयो ।













