संसदको प्रमुख प्रतिपक्षी दलमा काँग्रेस र एमाले दुवै दलको दाबी
१७ फागुन, काठमाडौँ । संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल आफू दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागी नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत नेकपा(एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । यससँगै नेकपा(एमाले)ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस नै प्रमुख प्रतिपक्षी दल भएको दाबी गर्नुभयो । काँग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उहाँको भनाई छ ।
यता नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताउनुभयो । उहाँले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पार्नुभयो । यद्यपी को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उहाँले बताउनु भयो ।
यद्यपी संसद् सचिवालय भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कारण संसद् बैठक सार्नुपरेको जनाएको छ ।













