एपीएफका राजु नगरकोटी नायक बन्दा आर्मीको यात्रामा पूर्णबिराम

स्वर्णिम खबर
४ फाल्गुन २०७९, बिहीबार १८:५३

४ फागुन, हेटौँडा । हेटौंडामा जारी ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । स्टार खेलाडीहरुले भरिएको दुबै टोलीले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो । ट्राइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ र दिपक गुरुङको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बिफल पारेका थिए भने टेक बुढाथोकी र विकास खवासले भने गोल गरेका थिए । यता एपीएफको तर्फबाट पेनाल्टी प्रहार गरेका नवयुग लामा, सुदिप शिखाकार, सनिश श्रेष्ठ र दिपेश धिमालले भने गोल गरेका थिए । खेलमा २ वटा पेनाल्टी रोकेका एपीएफका गोलरक्षक राजु नगरकोटी म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । शुक्रबार आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ र ए डिभिजन क्लब मनाङ मस्र्याङग्दी बीच खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्तगर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*