एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश
३ फागुन, हेटौंडा । हेटौंडामा जारी ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा विदेशी क्लब एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विरगञ्ज युनाइटेडलाई २–० ले हराउँदै एफसी क्यामरुन सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो । पहिलो हाफको ३९ औं मिनेटमा एफसी क्यामरुनका कप्तान यानिक ओनाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । दोश्रो हाफको ३० औं मिनेटमा साबाले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका हुन् । शारीरिक रुपमा बलियो देखिएको क्यामरुन विरुद्ध विरगञ्ज युनाइटेडका खेलाडी निरिह देखिएका थिए । विरगञ्जले ए डिभिजन क्लब एन.आर.टी लाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो । खेलको म्यान अफ दि म्याच विरगञ्जका उमेश कार्की घोषित भए । अब क्यामरुनले सेमिफाइनलमा बिहिबार हुने हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुने दोश्रो क्वाटरफाइनल खेलको बिजेतासंग खेल्नेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्तगर्ने छन् ।













