भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यकः राष्ट्रपति भण्डारी
२८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी भ्रष्टचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्युनिकरण हुँदै जाने दाबी गर्नुभयो । उहाँले भ्रष्टाचार राज्यबिरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वभाविक रुपमा लिँदै संविधान र कानूनले निर्दिष्ट गरेका दायित्वहरु पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभयो । उहाँले नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचार निवारण ऐन संसदबाट पारित गराउन सरकारको तर्फबाट आवश्यक प्रयास गरिने जिकिर समेत गर्नुभयो ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकारले लिएका लक्ष्यहरु आर्थिक समृद्धि र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।













