हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी
२३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।
सोमवार प्रधानमन्त्री दाहालले संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसदका गतिविधिहरुलाई चलयामान बनाउने कुरामा छलफल गर्नुभएको हो । उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिनुभएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल भएको उल्लेख गर्नुभयो । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाउनुभएको बताउनु भयो ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसदमा विधेयकहरु अघि नबढीरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग सुझाव लिनुभएको बताउनुभयो । उहाँले सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको पनि उल्लेख गर्नुभयो ।
प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसदमा विधेयकहरु पेस गर्दा अफ्ठ्यारो हुने कुराको बारेमा पनि छलफल भएको बताउनु भयो ।













