सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको नियुक्ति हुँदैनः सचिव साह
१७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने हुनुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै पार्टी सचिव गणेश साहले गृहमन्त्रीको बारेमा प्रधानमन्त्रीले तत्काल कुनै पनि निर्णय नगर्ने बताउनुभयो । उहाँले त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्री दाहालले आफूसँगै राख्ने स्पष्ट पार्नुभयो । रवि लामिछाने गैरसांसद भइसकेको अवस्थामा मन्त्री बनाउँदा अन्य गैरसांसदहरुले पनि मन्त्री बन्ने आकांक्षा राख्ने भन्दै सचिव शाहले प्रधानमन्त्रीले सर्वोच्च अदालतको पूर्ण पाठको प्रतिक्षा गर्ने बताउनु भयो ।
सचिव साहले माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोजेको बताउनु भयो । उहाँले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टीले क्रियाशिलता अगाडी बढाएको स्पष्ट पार्नुभयो ।
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।













