सेभेन थ्री स्पोट्रर्ससँगको सम्झौता त्रूटीपूर्ण भएको क्यान अध्यक्षद्वारा स्वीकार
१२ माघ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टी–२० लिगको सम्झौता त्रुटीपूर्ण रहेको बताउनुभएको छ ।
बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोट्रर्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गर्नुभयो । तर क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमीकमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौता अनुरुप काम नहुनु दुखद् भएको प्रतिक्रिया दिनुभयो । सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिग चलिरहेको अवधिमा विभिन्न कारणमा विवाद हुनु क्रिकेट संघको पनि कामजोरी रहेको बताउनुभयो ।
यसैगरी अध्यक्ष चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताउनुभयो । अध्यक्ष चन्दले आईसिसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानून अनुसार अगाडि बढ्न सुुझाव दिएको उल्लेख गर्नुभयो ।
थुनामुक्त भएपनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो लागेको छैन । उनीबिरुद्धको मुद्दा अझै विचारधिन छ । यद्यपि सन्दीप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न थालेका छन् ।













