एमाले सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित
५ माघ, काठमाडौँ । नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख हुनु भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनु भएको हो । त्यस्तै घिमिरेको विपक्षमा उम्मेदवारी दिनुभएकी नेपाली काँग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई १०० मत प्राप्त भएको थियो । हाल बहाल रहेको २६८ मध्य बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो । नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनु भएको थियो । एमाले स्थायी कमिटीका सदस्य समेत रहनु भएका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।













