प्रतिनिधिसभाको सभामुखमा एमालेबाट घिमिरे र कांग्रेसबाट न्यौपानेको उम्मेदवारी

स्वर्णिम खबर
४ माघ २०७९, बुधबार १८:२३

४ माघ, काठमाडौँ । नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिनु भएको छ ।
बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएका उहाँलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवाष नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गर्नु भएको थियो भने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाँण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले समर्थन गर्नु भएको थियो । मनोनयन दर्तापछि संसद् सचिवालयमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै सांसद् घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभयो । उहाँले सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी हुन नदिने गरी कार्य सम्पादन गर्ने उल्लेख गर्नुभयो ।


यसैगरी नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि सभामुखका पदको लागि उम्मेदवारी दिनुभएको छ । उहाँको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । मनोनयन दर्तापछि संसद् सचिवालयमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै सांसद्ै न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभयो । उहाँले निर्वाचन अघिसम्म आफू नेपाली काँग्रेसको नेता भएपनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने बताउनु भयो ।
प्रतिनिधिसभामा समामुखको निर्वाचन माग ५ गते बिहिबार हुँदैछ । प्रतिनिधिसभा बैठक पनि बिहिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*