राजेन्द्र लिङदेनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैनः कांग्रेस

स्वर्णिम खबर
२२ पुष २०७९, शुक्रबार १८:२०

२२ पुस, काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनु भएको छ ।
शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट्याउनु भएको हो । उहाँले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी समेत दिनु भयो । आफूहरु अहिले पार्टी संसदीय दलको भोली (शनिबार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनु हुनेछ । काँग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*